ओस्लो नेपाली चर्चको वार्षिक बनभोज हर्षोल्लासका साथ सम्पन्न (August 03, 2025)

ओस्लो, नर्वे — ओस्लो नेपाली चर्चले आफ्नो स्थापना कालदेखि नै हरेक वर्ष झैँ यस वर्ष पनि वार्षिक बनभोज कार्यक्रम आयोजना गर्‍यो। यसपटकको बनभोज Sognsvann ताल नजिकै हर्ष–उल्लासका साथ, मनोरञ्जनात्मक र अर्थपूर्ण तरिकाले सम्पन्न भयो। मण्डलीका सदस्यहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा बालबालिकाको नृत्य (Action Song), खुला आकाशमुनि आराधना, भलिबल, पौडी, विभिन्न खेलकुद गतिविधि, चिकेन र पोर्क ग्रिल, साथै अन्य स्वादिला परिकारहरू प्रस्तुत गरिएको थियो। Prosgrunn मण्डलीका विशिष्ट पाहुनाहरूको पनि उपस्थिति रह्यो।

अद्भुत क्षणमध्ये एक त्यतिबेला देखियो, जब खुला आकाशमुनि नेपाली भाषामा सुसमाचारिय भजनहरू गाइँदै थिए। वरपरका अन्य पर्यटकहरूले भाषाको अर्थ नबुझ्दा पनि उत्सुकतापूर्वक कार्यक्रम अवलोकन गरे। विशेषगरी “How Great Thou Art” (महान् ईश्वर) भजनको समयमा कतिपय दर्शकहरू लयसँग परिचित भएको कारण भिडियो खिचिरहेका थिए—सायद ती पनि ख्रीष्टियन थिए होला। कार्यक्रममा पाष्टर जीवन मगरले “विश्वासीहरू हरेक परिस्थितिमा ख्रीष्टमा आनन्द गर्नुपर्छ” भन्ने विषयमा वचन सुनाउनुभयो।

बालबालिकालाई मनोरञ्जन दिलाउन विभिन्न खेलहरू आयोजना गरियो भने जोडाजोडीहरूका लागि विशेष खेलहरू राखिए, जसको उद्देश्य रमाइलो मात्र नभई आपसी सम्बन्धको महत्त्व बुझाउनु पनि थियो। यस अवसरमा शिशिर बाबुको जन्मदिन केक काटेर र प्राथना गरेर विशेष रूपमा मनाइयो। पुरुषहरूको बीच भलिबल खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक रह्यो। दिदीबहिनीहरूको नाचगान र “येशू मेरो लागि को हुनुहुन्छ?” शीर्षकको भिडियो खेल पनि कार्यक्रमको आकर्षण बने।

यस वर्षको बनभोजले काममा व्यस्त विश्वासीहरूलाई एक नयाँ ऊर्जा (refreshing moment) र परमेश्वरसँग नजिकको समय बिताउने अवसर प्रदान गर्‍यो। एक वाक्यमा भन्नुपर्दा—यस वर्षको वार्षिक बनभोज विशेष रह्यो। सम्पूर्ण व्यवस्थापन टोलीलाई धन्यवाद र सम्पूर्ण महिमा परमेश्वरलाई।