ओस्लो, नर्वे। ओस्लोमा भएका नेपाली विश्वासीहरूको सङ्गती गर्ने उद्देश्यका साथ सुरु भई प्रभुमा एकताबद्ध भएर अघि बढिरहेको ओस्लो नेपाली चर्चले आफ्नो छैटौँ वार्षिकोत्सव हर्षोल्लासका साथ सम्पन्न गरेको छ। कार्यक्रमको प्रारम्भ स्तुति तथा आराधनाबाट गरियो, जसले उपस्थित सबैमा आनन्द र कृतज्ञताको अनुभूति जगायो। अंग्रेजी साल २०२५ मा थपिएका नयाँ सदस्यहरूलाई नेपाली परम्पराअनुसार खादा लगाएर स्वागत र सम्मान गरियो। सानी नानी भनेसा पनि नयाँ सदस्यहरूमध्ये थिइन्, जसले भविष्यको पुस्ता चर्चसँगै अघि बढिरहेको सन्देश दिएको थियो।
बालसङ्गतीका नानीबाबुहरुले प्रस्तुत गरेका दुई आकर्षक नृत्य ‘आज मेरा भेडाहरू कहाँ लागे?’ र ‘Mercy is Falling Like Sweet Spring Rain’ अत्यन्त रमाइलो र उत्साहपूर्ण बने। सोबित सेर्पाको सुमधुर संगीतमा नर ब. सुनारले “आदर र भक्ति” नामक भजन गीत गाएर प्रभुलाई महिमा दिनुभयो। यसले उपस्थित सम्पूर्ण मण्डलीलाई आत्मिकरूपमा निकट बनायो।
चर्च स्थापना कालदेखि निरन्तर सेवा गर्दै आउनुभएका अगुवाहरूलाई उहाँहरूको योगदान, प्रार्थना र सेवाप्रति कृतज्ञता प्रकट गर्दै मण्डलीलाई भविष्यमा पनि सेवाको यात्रामा नथाकी अघि बढ्न प्रेरणा दिइयो।वक्ताका रूपमा पास्टर जीवन मगरले मण्डलीको दर्शन, मिशन र उद्देश्यबारे वचन सुनाउनुभयो। उहाँले दैनिक बाइबल अध्ययन, प्रार्थना, परिवारिक आराधना, खुशीसाथ परमेश्वरलाई दिनु र परमेश्वरको मिशनमा सक्रिय सहभागिता अपरिहार्य भएको स्मरण गराउनुभयो। उहाँको वचनले उपस्थितहरूलाई आत्मिकरूपमा चुनौती दिँदै परमेश्वरको कार्यमा अझै गहिरो रूपमा संलग्न हुन प्रेरित गर्यो।
समारोहको अन्त्यमा सहभागीहरूले नेपाली परिकारको स्वाद लिँदै आपसी आत्मीयता साटासाट गरे। वार्षिकोत्सवले समुदायमा एकता, प्रभुको प्रेम र नयाँ पुस्तालाई आस्थामा दृढ बनाउने गहिरो सन्देश दिएको छ। कार्यक्रमको प्रत्यक्ष भिडियो ओस्लो नेपाली चर्चको फेसबुकमा उपलब्ध छ। ://fb.watch/CoOs9DY9Wn/



























Leave a comment